काठमाडौं । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले क्लबका पूर्व स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा क्लबमा फर्काएको हो ।
एट्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने स्थायी स्थानान्तरणका लागि शर्त अनिवार्य गरिएको छ । फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।
तर ३० वर्षिया खेलाडीले १ सय २ खेलमा मात्र ३५ गोल गर्न सके । उनले बार्सिलोनालाई कोपा डेर रेको उपाधिमात्र जिताउन सके ।वित्तिय अवस्था खराब भएपछि बार्सिलोना छाड्ने उनी ११ औं खेलाडी हुन् । मेस्सी सहितका खेलाडीले यसै सिजन बार्सिलोना छाडेका छन् ।
ला लिगाको तलब संरचनाका कारण बार्सिलोनाले आफ्ना सर्वकालिन महान खेलाडी तथा सर्वाधिक गोलकर्ता मेस्सीलाई गुमाएको छ । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन –पीएसजी मा पुगेका छन् ।
खेलाडी सरुवाको अन्तिम समयमा उनी बार्सिलोना छाड्ने तेस्रो खेलाडी बने । राइट ब्याक इमर्सन रोयल २५ दशमलव ८ मिलियन पाउण्डमा टोटेनहम लागेका छन् भने युवा मिडफिल्डर इलाइक्स मोरिबा १३ दशमलव ७ मिलियन पाउण्डमा आरबी आइपजिग गएका छन् ।
एट्लेटिकोले गत सिजन लुइस सुआरेजलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो । डिएगो सिमोन नेतृत्वको टिमलाई ला लिगा उपाधि दिलाउन सुआरेजले निर्णायक भुमिका खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ १६ बुुधबार
Comments