‘सिजन अफ सर्भाइभल’ नारा सहित हिमालय रोडिजको चौथो सिजन सुरु
काठमाडौं । ‘सिजन अफ सर्भाइभल’ नारा सहित रियालिटी सो हिमालय रोडिजको चौथो सिजन सुरु भएको छ । आयोजक हिमालय टिभीले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सोको घोषणा गर्दै विविध पक्षका बारेमा जानकारी दिएको हो ।
विगतका वर्ष भन्दा केही ढिला सुरु भएको सोको अडिसन डिजिटल रुपमा आयोजना हुनेछ । कोरोना महामारीलाई ध्यानमा राखेर अडिसन डिजिटल हुने आयोजना हो । एन्ड्रोइड मोबाइलबाट एप डाउनलोड गरेर सोमा सहभागीताका लागि फर्म भर्न सकिने आयोजकले जनाएको छ ।
कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले महामारीबाट बच्दै सो अगाडि बढाउने बताए । तीन सिजन अमनप्रताप अधिकारीको निर्देशन रहेको शो अहिले भने सिमोस सुनुवारले निर्देशन गर्दैछन् । नयाँ विषयवस्तु मार्फत नेपाली युवाको संघर्ष शोमा देखाइने निर्देशक सुनुवारले भनाइ राखेका थिए ।
अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र समन श्रेष्ठ निर्णायक रहने शोको होस्ट रेमनदास श्रेष्ठ रहनेछन् । सोको प्रसारण असोजको पहिलो साताबाट हुने आयोजकले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
