कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजबाट एस्ट्राजेनेका खोप लगाइदै
काठमाडौं । कोभिसिल्डको एक डोज लगाएर दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनका खोप लगाउन सुरु गरिएको छ । पहिलो डोज लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरी १४ लाख व्यक्तिलाई आजबाट दोस्रो डोज दिन थालिएको स्वास्थ्य राज्मन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सोमबार र मंगलबार कोभिसिल्डको दोस्रो मात्राका रूपमा ‘एस्ट्राजेनेका’ खोप दिन थालेको हो । उनकाअनुसार गत चैतमै पहिलो डोज लाएका उनीहरूले लामो समयसम्म दोस्रो मात्रा पाएका थिएनन् ।
कोभिसिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधा दुवैले तत्काल ‘कोभिसिल्ड’ खोप दिन नसक्ने जनाएपछि मन्त्रालयले ‘कोभिसिल्ड’ को सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनेका’ दिने निर्णय गरेको थियो । खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ।
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार
