काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सामाजिक सन्जालमार्फत तीन खेलाडीलाई भएको रंगभेदी दुर्व्यवहारको निन्दा गरेका छन् ।
कप्तान केनले दुर्व्यवहारको निन्दा गर्दै दुर्व्यवहार गर्नेहरु इंग्ल्यान्डको प्रशंसक नभएको समेत बताएका छन् । युरोकपको फाइनलमा पेनाल्टीमा गोल गर्न चुकेपछि मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि रंगभेदी दुर्व्यवहार भएको थियो ।
जुन खेलमा इंग्ल्यान्ड पेनाल्टीमा इटालीसँग ३-२ ले पराजित भएर उपाधि जित्न बन्चित भएको थियो । तीनै जना उत्कृष्ट थिए । उनीहरु समर्थन पाउन योग्य छन् । यदि तपाई कसैलाई सामाजिक संजालमा दुर्व्यवहार गर्नु हुन्छ भने तपाई इंग्ल्यान्डको प्रशंसक होइन । हामीलाई तपाई चाहिन्न, केनले ट्वीटरमा लेखेका छन् ।
तीन खेलाडीलाई दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीले अनुसन्धान समेत गरिरहेको छ । यस्तै इंग्लिस फुटबल एसोसिएसन एफएले समेत दुर्व्यवहारको भर्त्सना गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २९ मंगलबार
Comments