काठमाडौं । युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
युक्रेनका लागि ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । यस्तै, स्विडेनका लागि इमिल फोर्सवर्गले एक गोल गरे ।
खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए ।
अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याएका थिए ।
यस्तै, अतिरिक्त समयको ९९ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटियो । युक्रेनका आर्टेम बेसेदीनलाई ट्याकल गरेपछि मार्कस ड्यानीएल्सनले रातो कार्ड पाएका थिए । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १६ बुधबार
Comments