काठमाडौं । अष्ट्रियालाई पराजित गर्दै इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इटालीका लागि फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । यस्तै, अष्ट्रियाका लागि सासा कलाडिज्कले एक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १–० गोलको सुरुवाती अग्रता दिलाए । १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । त्यसपछि ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २–१ ले विजयी भयो ।
जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।
प्रकाशित मितिः २०७८ असार १३ आइतबार
Comments