महामारीका कारण रोकिएका सबै परीक्षा दसैंअगाडि नै गर्ने तयारीमा लोकसेवा आयोग
काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएका सबै परीक्षा दसैंअगाडि नै गर्ने तयारीमा लोकसेवा आयोग जुटेको छ ।
यद्यपि आयोगका पदाधिकारीको नियुक्ति भने भइसकेको छैन । पदाधिकारीको सिफारिस भइसकेको र नियुक्तिको प्रक्रिया बाँकी भएका कारण आयोगले परीक्षाका लागि आन्तरिक तयारी मात्रै थालेको छ ।
कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरीअगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी थालेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सह–सचिवसम्मको परीक्षा सञ्चालन हुन सकिरहेको छैन ।
लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए । परीक्षा सम्पन्न गर्न उपयुक्त समयको प्रतीक्षामा रहेको र दसैंअघि नै गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
पदाधिकारीले नियुक्ति पाएपछि चालू आर्थिक वर्षको दरबन्दी पदपूर्तिका लागि परीक्षाको थप तयारीमा लाग्ने गुरागाईंले बताए । उनका अनुसार परीक्षाअघि परीक्षार्थीलाई कम्तीमा एक महिना अध्ययनका लागि समय दिइने छ ।
साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उनले त्यो पनि कोभिड सङ्क्रमणको अवस्थामा निर्भर हुने बताए । अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको थियो । गत आर्थिक वर्षमा कोरोनाका कारण रोकिएका परीक्षा यो वर्ष सम्पन्न गर्ने तयारीमा आयोग लागेको गुरागाईंको भनाइ छ ।
२००८ साल असार १ गते स्थापना भएको लोकसेवा आयोग चैत १० देखि पदाधिकारीविहीन बनेको छ । २००७ सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले आयोग स्थापना गरिएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मितिः २०७८ असार ०१ मंगलबार