इन्भेष्टमेन्ट बैंकबाट रकम गायब

भक्तपुर न्यूज

१ फागुन २०७३ ७:५०

इन्भेष्टमेन्ट बैंकबाट रकम गायब

धनगढी, १ फागुन । नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको धनगढी शाखाबाट करिब २४ लाख रुपैयाँ गायब भएको छ । बैङ्कको एटिएम मेसिनमा राख्न झिकेको रकम एटएम मेसिनमा नराखी कर्मचारीले हिनामिना गरेको आशंका गरिएको छ । शाखा प्रबन्धकको अनुरोधपछि घटनाको अनुसन्धान गर्न प्रहरीले ३ जना बैङ्क कर्मचारीलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।
रकम गायब भएको जानकारी पाएपछि बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेय हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका छन् । उनले पनि बैङ्क शाखाका कर्मचारीलाई बोलाएर सोधपुछ गरिहेका छन् ।
शुक्रवार दिउँसो बैङ्कको एटीएममा राख्नका लागि तयार पारिएको उक्त रकम एटिएममा नराखी गायब पारिएको बैङ्क श्रोतले जनाएको छ । एटिएम मेसिनसँग जोडिएको सिसि क्यामेरा समेत शुक्रवार केही समयका लागि बन्द गरेको भेटिएको छ । शुक्रवारदेखि नै एटिएम मेसिन बन्द गरिएको थियो ।
आज बैङ्क खोल्न चावी नभेटिएपछि ताला काटेर कर्मचारी भित्र पसेका छन् । बैङ्क कर्मचारीले घटना सार्वजनिक नगरी भित्रभित्रै मिलाउने प्रयास गरिरहेको बैङ्ककै एक कर्मचारीले बताए ।
बैङ्कले सो घटनालाई सार्वजनिक गर्न नचाहेपनि बैङ्कका धनगढी शाखा प्रबन्धक राजेन्द्रबहादुर सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र लेखी आवश्यक कारबाहीका लागि आग्रह गरेका छन् ।
कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैङ्कले लेखेको पत्र प्राप्त भएको जानकारी दिँदै ३ जना बैङ्क कर्मचारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए । अनुसन्धान जारी रहेकाले कर्मचारीको नाम गोप्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *