एनसेलले ल्यायो एनसेल एप मार्केट
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि एनसेल एप मार्केट सार्वजनिक गरेको छ । यो एप मार्केटमा ग्राहकले कर सहित १५ रुपैयाँमा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।
पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक आजबाट संचालनमा आउने यो एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसँग पेड एप्स उपलब्ध गराउने छ । यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्राण्ड सर्भिस हो । जुन फिचर स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट एप्स र गेम्स पाईने विश्वकै तेस्रो ठूलो एप्लिकेसन स्टोरको रुपमा चिनिन्छ ।
एनसेल एप मार्केटमा शिक्षा, व्यापार तथा व्यवसाय, मनोरञ्जन, संचार, मल्टिमिडिया लगायत अरु विविध विधाका तीन लाख भन्दा बढि एप्स उपलब्ध छन् । भुक्तानीमा असहजता लगायत विविध कारणले गर्दा नेपाली ग्राहकको पेड एप्समा पहुँच कठिन रहेको विद्यमान अवस्थामा यस एप मार्केटले ग्राहकलाई विभिन्न उपयोगी प्रिमियम एप्समा सजिलै पहुँच सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।
नेपालमा धेरै ग्राहकले फिचर फोन प्रयोग गरिरहेका र स्मार्टफोन प्रयोगकर्ता पनि व्यापक रुपमा बढिरहेकाले विद्यमान परिप्रेक्षमा हामीले ती ग्राहकलाई सजिलै प्रिमियम एप्स उपलब्ध गराउने उद्देश्यका साथ ओपेरासँगको सहकार्यमा यो एनसेल एप मार्केट संचालनमा ल्याउन पाउँदा खुशी छौं, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यसबाट ग्राहकले थोरै शुल्कमा धेरै भन्दा धेरै प्रिमियम एप्स र गेम्सको फाइदा लिन सक्नेछन् ।
पेड एप्सको फाईदा लिनका लागि ग्राहकले apps.ncell.axiata.com मा गई यो सेवा लिन सक्छन् । त्यसैगरी A टाइप गरी १७११० मा एसएमएस पठाएर प्रत्येक हप्ता स्वतः नविकरण हुने साप्ताहिक सेवा लिन सक्छन् ।
यदि ग्राहकले एक हप्ताको लागि मात्र यो सेवा लिन चाहेमा A र 1 टाइप गरी १७११० मा एसएमएस पठाएर यो सेवा लिन सक्नेछन् । यो सेवा सुचारु गरे पछि लाग्ने शुल्क प्रिपेड ग्राहकका हकमा मेन ब्यालेन्सबाट काटिने छ भने पोष्टपेड सेवाग्राहीका हकमा उनीहरुको मासिक बिलमा समावेश हुनेछ । एप र गेम डाउनलोड गर्दा नियमित डाटा प्याक वा शुल्क खपत हुनेछ ।
एनसेलको प्रतिनिधित्व गर्दै ओपेराले एप मार्केटको संचालन र प्रशासनिक काम हेर्नेछ । यसले विश्व बजारमा आएका र एप डेभलपरहरुले अपलोड गरेका नयाँ–नयाँ आकर्षक एप्स राखी स्टोरलाई निरन्तर अपडेट गरिरहने छ ।