काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार पारीको मद्दतमा नेपालले नेदरल्यान्डसामु २०७ रनको लक्ष्य पेश गरेको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा नेपालले ६ विकेट गुमाएर २०६ रन जोडेको हो ।
नेपालको पारीमा कुशल भुर्तेलले सर्वाधिक ६२, दीपेन्द्रसिंह ऐरीले ६०, सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे ।
कुशलको यो लगातार तेस्रो अर्धशतक हो । उनले यसअघि नेदरल्यान्ड र मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए । त्रिदेशीय क्रिकेट शृंखलामा लगातार २ जीतसँगै नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
डबल लिगमा खेलाइएको खेलमा अब नेपालले नेदरल्यान्डसँग दोस्रो खेल खेलिरहेको हो भने मलेसियासँग पुन: खेल्नेछ । लिग चरणको खेल सकिएपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।
प्रकाशित मितिः २०७८ बैशाख ०७ मंगलबार
Comments