काठमाडौं । चौधरी ग्रुपले ‘वाइवाइ’को नाममा यू-१९ क्रिकेटका विभिन्न प्रतियोगिताका लागि ७० लाख रूपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ।
काठमाडौंमा सोमबार (आज) एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले चौधरी ग्रुपसँग पाँच वर्षका लागि सम्झौता गरेको हो।
चौधरी ग्रुपले यसअघि पनि १० वर्षसम्म नेपाली क्रिकेटको विभिन्न कार्यक्रममा प्रायोजन गर्दै आएको छ। तर, चार वर्षको अन्तरालपछि सीजी ग्रुपले पुनः क्रिकेटमा लगानी सुरु गरेको हो।
सम्झौताअनुसार हरेक दुई वर्षमा १० प्रतिशतले रकम वृद्धि गर्दै लैजाने सम्झौतामा उल्लेख छ। यससँगै उसले क्यानले आयोजना गर्ने यू–१९ का विभिन्न प्रतियोगिताका लागि प्रायोजन गर्ने छ।
क्यानले आइतबार एक बैठक सम्पन्न गर्दै यू–१९ टिमको लागि प्रायोजनसँग सम्झौता गर्ने बताएको थियो। तर, यू–१९ प्रतियोगिता घोषणा भने भइसकेको छैन।
प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार
Comments