दलहरूको आ-आफ्नै अडान : बैठक निष्कर्षविहीन
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतहरूसँग छलफल गरेका थिए । तर दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा प्रस्तुत गर्ने बताएको थियो । अर्कोतर्फ सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याए ।
बैठकमा सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएको थियो । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरुलाईआग्रह गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको विपक्षी दलको अवरोधका कारण जेठ १३ यता सदन चल्न सकेको छैन ।