अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला

भक्तपुर न्यूज

२६ जेठ २०८२ ८:०२

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क शहरमा रहेको एक घरमा एक नेपाली परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। उनीहरूको गोली लागी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र एक ८ वर्षीया बालिका र अर्का २ वर्षीय बालक रहेको मनासस पार्क प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ। बालबालिकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

मनासस पार्कमा रहेको सो घटना घटेको घर नेपालीकै रहेको र मृतकको परिवार भाडामा बस्दै आएको बताइएको छ। घर धनीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरी आई घटनास्थल प्रवेश गर्दा चार जनाको शव फेला पारेको हो।

बिहीबार राति करिब १० बजेर ४० मिनेट जाँदा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले उक्त घटनाको अनुसन्धान अगाडि बढाएको र शवलाई पोस्टमार्टमका लागि मनासस अस्पताल लगिएको उल्लेख गरेको छ। हत्या या आत्महत्या के भन्ने यकिन भई नसकेको र अनुसन्धानपश्चात घटना के-कसरी भएको हो भन्ने पत्ता लाग्ने प्रहरीलाई उद्धृत गर्दै स्थानीय अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रहरीले जारी गरेको प्रारम्भिक अवस्था प्रतिवेदनमा चारै जनाको मृत्यु गोली लागेर मृत्यु भएको घटनास्थलबाट एक थान बन्दुक बरामद गरिएको  उल्लेख गरिएको छ। सो परिवार सो स्थानमा ६ महिनाअघि आएको बताइएको छ। मृतक बालिका स्थानीय मनासस पार्क प्राथमिक विद्यालयमा अध्ययनरत् रहेको सो विद्यालयले जानकारी गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *