सामाजिक सञ्जालमा एमालेको ‘म झोले हो’ अभियान

भक्तपुर न्यूज

२० जेठ २०८२ १४:२८

सामाजिक सञ्जालमा एमालेको ‘म झोले हो’ अभियान

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ अभियान सुरु गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि सुरु भएको यो अभियानमा पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकसम्म सक्रिय हुन थालेका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनमा अस्ति शनिबार प्रधानमन्त्री ओलीले “म नेकपा एमालेको झोले हुँ, म जनताको झोले हुँ” भन्दै आफूलाई झोले भन्नमा गर्व हुने बताएपछि यो अभियान सुरु भएको हो ।

उक्त अभिव्यक्तिपछि ओलीले पुन: सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हो’ लेखिएको पोष्टर सार्वजनिक गरे । ओलीले लेखेका छन्, “हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”

सामान्यतया ‘झोले’ शब्द राजनीतिक रूपमा व्यंग्यका लागि प्रयोग हुँदै आए पनि एमालेले यसलाई सकारात्मक अर्थमा परिभाषित गर्दै कार्यकर्ता उत्साहवर्द्धन र दलको पहिचान निर्माण गर्ने प्रयत्न गरेको देखिन्छ । नेताहरूले आफूलाई ‘विकासको झोला बोक्ने’, ‘राष्ट्रको इज्जत जोगाउने झोले’ का रूपमा प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *