कांग्रेसको दृष्टिमा राजावादीहरू गैर संवैधानिक

भक्तपुर न्यूज

२० जेठ २०८२ १४:२६

कांग्रेसको दृष्टिमा राजावादीहरू गैर संवैधानिक

काठमाडौं । नेपाली कांग्रेसले संविधानको घेरालाई गैर संवैधानिक ढंगबाट तोड्नु अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, “संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।”
जनताले चुनेका प्रतिनिधिहरूबाट निर्माण गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको भएको उनको भनाइ थियो । ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको, निर्माण गरेको संविधान हो,’ महतले भने, ‘आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ ।’

‘जति पनि विषयवस्तुहरू अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ । त्यसको निर्क्योल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडि बढाउँछ,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो ।’

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए । उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक पनि छिट्टै बस्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *