सामाजिक सञ्जालमाथि सेन्सरशिप लगाउने नेपाली अधिकारीमाथि अमेरिकाले भिसामा रोक लगाउने
काठमाडौं । अमेरिकी सरकारले विदेशी अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । खासगरी सामाजिक सञ्जाल प्लेटफर्महरूका सामग्री नियमनका लागि कडा नियमहरू लागु गर्ने प्रयासमा रहेका देशका अधिकारीहरूलाई लक्षित गर्दै यस्तो कदम चालिएको हो ।
त्यस किसिमको व्यवहारलाई अमेरिकाले ‘सेन्सरशिप’ संज्ञा दिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो नीति ती विदेशी नागरिकहरूमाथि लक्षित छ, जो अमेरिकामा सुरक्षित मानिएका अभिव्यक्तिमाथि सेन्सरशिप लगाउनमा जिम्मेवार छन् । विदेश मन्त्री मार्को रुबियोले एक घोषणामार्फत भिसा प्रतिबन्ध लगाइने विदेशी अधिकारीहरूको विषयमा चर्चा गरेका छन् ।
जसअनुसार अमेरिकी सामाजिक सञ्जाल माध्यममा गरिएका पोस्टलाई लिएर अमेरिकामा रहेका अमेरिकी नागरिक वा बासिन्दाहरूलाई पक्राउ पुर्जी जारी गर्ने वा त्यसको धम्की दिने अधिकारीहरू पनि यसमा पर्नेछन् । अमेरिकी प्लेटफर्महरूलाई विश्वव्यापी सामग्री नियमन नीतिहरू अपनाउन वा उनीहरूको अधिकारभन्दा बाहिर अमेरिकाभित्र पुग्ने गरी सेन्सरशिप गतिविधिमा संलग्न हुन दबाब दिनेहरूलाई समेत यसले लक्षित गरेको छ ।
यो नयाँ नीति युरोपको डिजिटल सेवा ऐन (डीएसए) प्रति लक्षित रहेको द भर्जले उल्लेख गरेको छ । यद्यपि यसले नेपालको सामाजिक सञ्जाल निर्देशिका तथा सामाजिक सञ्जाल विधेयक र त्यसको तर्जुमा तथा कार्यान्वयनमा संलग्न अधिकारीहरूलाई समेत प्रभावित पार्न सक्छ ।
नेपालको सामाजिक सञ्जाल निर्देशिका तथा सामाजिक सञ्जाल विधेयक र त्यसको तर्जुमा तथा कार्यान्वयनमा संलग्न अधिकारीहरूलाई समेत प्रभावित पार्न सक्छ । नेपाल सरकारले पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल नियमनको नाममा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका प्लेटफर्ममाथि दबाब बढाउँदै आइरहेको छ ।