भोलि राजावादी रत्नपार्कमा र एमाले गणतन्त्र उत्सववादी भृकुटीमण्डपमा भेला हुँदै
काठमाडौं । नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाउन कार्यक्रम गर्ने भएको छ। यो उत्सव पार्टी सचिवालय बैठकको निर्णयानुसार जनवर्गीय तथा भ्रातृ संगठनहरुले कार्यक्रम आयोजना गरेका हुन्।
पार्टी अध्यक्ष केपी ओलीले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनको विपक्षमा तयारी रहन नेता(कार्यकर्तालाई निर्देशन दिँदै भनेका थिए, ‘१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।’ एमालेको प्रदर्शन बिहान ११ बजे हुने कार्यक्रम छ । “जेठ १५ गते ११ बजे भृकुटीमण्डप जाऔं, गणतन्त्र स्थापनाको उत्सवमा सहभागी बनौं” “प्रतिगामी–पुनरुत्थानवादीका हर्कतलाई खारेज गरौं” भन्ने नारा तय गरिएको एमाले नेता विष्णु रिजालले बताए ।
सोही दिन राजावादीको संयुक्त जनआन्दोलन समितिले काठमाडौंको रत्नपार्कमा प्रदर्शन र सभा गर्दैछ । उनीहरुको प्रदर्शन १२ बजे रत्नपार्कबाट सुरु हुने कार्यक्रम छ। राजावादी नेताहरुले १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गर्दै घरदैलो कार्यक्रम गरेका छन्। आन्दोलन शान्तिपूर्ण र संयमित हुने उनीहरुले बताएका छन्।
राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चार जगतसमक्ष आग्रह गरे। उनले भने, “तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधानविरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ।”
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए। उनले भने, ुशान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ।”
राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गरे। आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए। उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए।
राजावादीले गर्न लागेको प्रदर्शनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन्। हिजो मंगलबार साँझ गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाइएको थियो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख सहभागी थिए।