३१ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिताको नयाँ कीर्तिमान
काठमाडौं । विश्व प्रसिद्ध आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो रेकर्ड तोड्दै ३१ औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुग्दै नयाँ रेकर्ड बनाएका छन् । सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज मङ्गलबार बिहान ४ बजे ३१ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएको बताए ।
कामीरिताले गत वर्ष ०८१ साल वैशाख ३० गते २९ औँ र जेठ ९ गते ३० औँ पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोही बनेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’
कामीरिता २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।