गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
काठमाडौं । गृहमन्त्री रमेश लेखकको ज्ञिभुवन विमानस्थल अध्यागमन घुस काण्डमा छलफल गर्न आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कांग्रेसभित्र विद्यमान गुटबन्दीको झलक देखिएको छ । कांग्रेसी नेताहरू डा. शेखर कोइराला, डा. सुनिल शर्मा र सांसद राजेन्द्र बजगाइँले घुस काण्डमा गृहमन्त्री लेखकले निष्पक्ष छानविन गर्न राजीनामा गरेर मार्ग प्रशस्त गर्दा हुने भन्ने प्रतिक्रिया जाहेर गरेकाले आजको पदाधिकारी बैठकमा उक्त प्रतिक्रिया पार्टी अनुशासनविपरीत रहेकाले उनीहरूमाथि स्पष्टीकरण सोध्नुपर्ने विचार केही पदाधिकारीले व्यक्त गरेको समाचार स्रोत जनाएको छ ।
स्रोतका अनुसार पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको थियो । स्रोतले भन्यो, ‘एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनिल र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरूसँग के–कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ’ भनेर कोइराले आफ्नो विचार प्रकट गरे । उनले बैठकमा गृहमन्त्री लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको पनि बताएका थिए ।