नेपाल सरकारलाई भारत सरकारको धन्यवाद ज्ञापन

भक्तपुर न्यूज

२६ वैशाख २०८२ १७:०८

नेपाल सरकारलाई भारत सरकारको धन्यवाद ज्ञापन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको काश्मीरस्थित पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पाकिस्तानले आक्रमण गरेकोमा भारतले जवाफी कारवाही मात्र गरेको राजदूत श्रीवास्तवले प्रष्ट्याएको बुझिएको छ । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारले हिजो बिहीबार सार्वजनिक गरेको वक्तव्यप्रति प्रधानमन्त्रीसमक्ष धन्यवादज्ञापन गरेको पनि जनइएको छ । स्मरणीय छ कि परराष्ट्र मन्त्रालयद्वारा हिजो प्रकाशित विज्ञप्तिमा नेपाल सबैखाले आतंकवादको विरुद्धमा रहेको उल्लेख गरिएको थियो ।

यस्तै, भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरेका छन् । नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रम ओलीले प्रष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *