एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरे

भक्तपुर न्यूज

१७ वैशाख २०८२ १२:२७

एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौं। इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

स्पेनिस क्लब रियल मड्रिडबाट यो सिजनको अन्त्यमा एन्सेलोटी विदा हुँदैछन्। उनलाई पाँच पटकको विश्वकप विजेता ब्राजिलले टिमको नेतृत्वका लागि प्रस्ताव गरेको थियो। तर, उनले त्यो अवसरलाई अस्वीकार गरेका छन्।

स्पेनिस पत्रिका मार्काका अनुसार एन्सेलोटी सोमबार लन्डन गएका थिए। त्यहीँ ब्राजिलसँगको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो। तर, उक्त सम्झौतामा हस्ताक्षर नगरि उनी मंगलबार स्पेन फर्किएका छन्।

पछिल्लो घटनाक्रममा उनले ब्राजिल फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सलाई फोनमार्फत प्रस्ताव अस्वीकार गर्ने निर्णय सुनाएका छन्। उनको ‘यु–टर्न’को मुख्य कारण ब्राजिलसँगको जिम्मेवारी कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल उत्पन्न हुनु हो।

ब्राजिल पक्षले एन्सेलोटी जुनबाट नै उपलब्ध हुने ठानेका थिए। तर, एन्सेलोटीले भने आफू अगस्टदेखि मात्रै भूमिका सम्हाल्न सक्ने जानकारी दिएका थिए। अब एन्सेलोटी ब्राजिलको प्रशिक्षक नबन्ने निश्चितजस्तै देखिएको छ। उनले यो समरमा हुने क्लब विश्वकपमा रियलको नेतृत्व गर्न सक्छन्।

यसैबीच एन्सेलोटीलाई साउदी अरबबाट एक आकर्षक प्रस्ताव प्राप्त भएको बताइएको छ। उक्त प्रस्ताव अनुसार उनले साउदी क्लबमा प्रशिक्षकको रूपमा ५० मिलियन युरो (कर कटौतीपछि) पारिश्रमिक पाउनेछन्, जुन उनले अस्वीकार गर्न गाह्रो पर्ने अनुमान छ।

यता, ब्राजिल अब नयाँ प्रशिक्षक खोज्न बाध्य भएको छ। गत महिना अर्जेन्टिनासँगको ४–१ को हारपछि डोरिभाल जुनियरलाई बर्खास्त गरेपछि ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा लागेको थियो।

ब्राजिलको राष्ट्रिय टोली अब जुनको सुरुतिर विश्वकप छनोट अन्तर्गत इक्वेडर र पराग्वेसँग खेल्दैछ। त्यसअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्ने योजना छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिल हाल चौथो स्थानमा रहेको छ।

शीर्ष ६ टोली सिधै २०२६ को विश्वकप (अमेरिका, मेक्सिको र क्यानडामा) का लागि छनोट हुनेछन् भने सातौं स्थानमा रहने टोलीले प्ले–अफ खेल्ने अवसर पाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *