रूडिगरलाई ६ खेलको प्रतिबन्ध
काठमाडौं। रियल मड्रिडका डिफेन्डर एन्टोनियो रूडिगरलाई ६ खेलको प्रतिबन्ध लगेको छ।
कोपा डेल रे फाइनलअन्तर्गत गत शनिबार बार्सिलोनाविरुद्धको ३–२ हारसँगै रेफ्रीप्रति देखाएको व्यवहारका कारण उनलाई प्रतिबन्ध लगाइएको हो। खेलको अतिरिक्त समयमा रूडिगरले चिच्याउँदै रेफ्रीतर्फ बरफको सानो थैली फ्याँकेका थिए।
स्पेनिस फुटबल महासंघको अनुशासन समितिले यसलाई अत्यन्त सामान्य तर आक्रोशपूर्ण हिंसा भन्दै कारबाही गरेको हो। यसै खेलमा मड्रिडका अर्का खेलाडी लुकास भास्केजलाई पनि रेफ्रीसँगको असहमतिको कारण दुई खेलको प्रतिबन्ध लगाइएको छ।
रूडिगरले आफ्नो व्यवहारका लागि माफी मागिसकेका छन्। तर, जर्मनीका पूर्वखेलाडी डाइटमार हामानले उनलाई आगामी जुनमा हुने ने;न्स लिगको सेमिफाइनलका लागि राष्ट्रिय टोलीबाट बाहिर राख्नुपर्ने माग गरेका छन्।
त्यसैबीच ३२ वर्षीय रूडिगरले बायाँ खुट्टाको घुँडाको म्यानिस्कस च्यातिएको समस्या समाधान गर्न शल्यक्रिया गराएका छन्। शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको क्लबले मंगलबार जनाएको छ। क्लबले उनी कहिले मैदानमा फर्किन्छन् भनेर समयसीमा भने खुलाएको छैन। तर, केही हप्तासम्म आराम गर्नुपर्ने अनुमान गरिएको छ।
रूडिगरले इन्स्टाग्राममा अस्पतालको फोटोसहित लेखेका छन्,‘अब म पीडामुक्त छु र शल्यक्रिया सफल रह्यो। दुई ठूला प्रतियोगिता नेसन्स लिग र क्लब विश्वकप अगाडि छन्। त्यसैले म यथाशक्य छिटो फर्कन चाहन्छु।’
जर्मनीले नेसन्स लिगको सेमिफाइनलमा जुन ४ मा म्युनिखमा पोर्चुगलसँग खेल्नेछ। मड्रिडले क्लब विश्वकपमा जुन १८ मा आफ्नो पहिलो खेल खेल्ने छ, जुन अमेरिकामा आयोजना हुँदैछ।