मातातीर्थ कुण्डमा आज श्रद्धालु भक्तजनको घुइँचो

भक्तपुर न्यूज

१४ वैशाख २०८२ १३:३१

मातातीर्थ कुण्डमा आज श्रद्धालु भक्तजनको घुइँचो

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज आइतबार बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनले बताए ।

आज मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने गरिएको अध्यक्ष उदासले बताए ।

छोराछोरी आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने, मीठामीठा, तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले नगरभित्र सार्वजनिक बिदासमेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *