आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन् ।
नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा बिहीबार भएको वार्तामा मन्त्री पौडेलले आवासीय चिकित्सकको सुविधा मासिक ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने बताए । ‘आयोगले गरेको निर्णय निजी सञ्चालकले नमान्ने भन्ने हुँदैन। यदी उहाँहरुले नमान्ने हो भने तालुकदार मन्त्रालयसँग उहाँहरुको जति पनि काम छ। त्यो कुनै पनि काम अगाडि बढ्दैन’, मन्त्री पौडेलले भने।
उनले निर्वाह भत्ताको विषयलाई शुल्क र विद्यार्थी सिटसँग पनि नजोड्न आग्रह गरेका छन्। उनले यी विषयहरु फरक भएको भन्दै निर्वाह भत्ताको विषय कार्यान्वय भए मात्र उहाँहरुको अन्य विषयमा छलफल हुने पनि बताए।