पृथ्वीबाहेक अन्य ग्रहमा पनि जीवन रहेको वैज्ञानिकहरूको संकेत

भक्तपुर न्यूज

५ वैशाख २०८२ १०:०६

पृथ्वीबाहेक अन्य ग्रहमा पनि जीवन रहेको वैज्ञानिकहरूको संकेत

काठमाडौं ।  वैज्ञानिकहरूले पृथ्वीबाट एउटा टाढाको ग्रहमा जीवनको सम्भावना रहेको संकेत फेला पारेको बताएका छन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको एक अनुसन्धान टोलीले के२–१८बी नामक ग्रहको वायुमण्डलमा पृथ्वीमा साधारण जीवहरूले मात्र उत्पादन गर्ने अणुहरूको संकेत पत्ता लगाएका छन् ।

यो नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यस ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायनहरू पत्ता लगाएको दोस्रो ‘बढी आशावादी’ घटना हो । तर, अनुसन्धान टोली र स्वतन्त्र खगोलविद्हरूले यी नतिजाहरू पुष्टि गर्न अझै धेरै डाटा आवश्यक पर्नेमा जोड दिएका छन् ।

अनुसन्धान प्रमुख प्रोफेसर निक्कु मधुसूदनले क्याम्ब्रिज विश्वविद्यालयको खगोल विज्ञान संस्थानको प्रयोगशालामा भने, “त्यहाँ जीवन हुनसक्छ भनेर यो हालसम्मको सबैभन्दा बलियो प्रमाण हो । हामी एकदेखि दुई वर्षभित्र यस संकेतलाई पुष्टि गर्न सक्छौँ ।” के२–१८बी पृथ्वीभन्दा ढाई गुणा ठूलो छ र हामीबाट सात सय ट्रिलियन माइल टाढा छ । नासाको जेम्स वेब स्पेस टेलिस्कोप यति शक्तिशाली छ कि यसले आफ्नो सानो रातो सूर्यबाट आउने प्रकाशको विश्लेषण गरेर यस ग्रहको वायुमण्डलको रासायनिक संरचना पत्ता लगाउन सक्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको समूहले यस ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित दुई अणुहरूमध्ये कम्तीमा एक डाइमेथाइल सल्फाइड र डाइमेथाइल डाइसल्फाइडको रासायनिक छाप फेला पारेको छ । पृथ्वीमा, यी ग्यासहरू समुद्री फाइटोप्लांकटन र जीवाणुहरूले उत्पादन गर्छन् । प्रोफेसर मधुसूदनले एकैपटक अवलोकन गर्दा यति धेरै मात्रामा ग्यास पत्ता लागेकोमा आश्चर्य व्यक्त गरे । उनले भने, “हामीले अनुमान गरेअनुसार यस ग्रहको वायुमण्डलमा यस ग्यासको मात्रा पृथ्वीभन्दा हजारौँ गुणा बढी छ ।” “यदि जीवनसँगको यो सम्बन्ध वास्तविक हो भने, यो ग्रह जीवनले भरिएको हुनेछ,” उनले भने ।

प्रोफेसर मधुसूदनले अगाडि भने, “यदि हामीले के२–१८बी मा जीवन छ भन्ने पुष्टि गर्न सक्यौँ भने, यसले मूलतः हाम्रो आकाशगंगामा जीवन धेरै सामान्य छ भन्ने पुष्टि गर्छ ।” यस चरणमा धेरै सर्तहरू रहेको उनले स्वीकार गरे ।

पहिलो कुरा, यसले नयाँ खोज आविष्कारको दावी पूरा गर्दैन । वैज्ञानिकहरूले आफ्ना नतिजाहरू ९९.९९९९९ प्रतिशतसम्म निश्चित हुनुपर्छ । वैज्ञानिक भाषामा यसलाई पाँच सिग्मा नतिजा भनिन्छ । तर, हालका नतिजाहरूले केवल ९९.७ प्रतिशत मात्र निश्चितता प्रदान गर्छ । यो वैज्ञानिक समुदायलाई विश्वास दिलाउन अपर्याप्त छ । यद्यपि, १८ महिनाअघि प्राप्त ६८ प्रतिशत सम्भावनाभन्दा धेरै बढी हो ।

एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर क्याथरिन हेमन्सले भनिन् “पाँच सिग्मा नतिजा पनि ग्रहमा जीवनको निर्णायक प्रमाण होइन,” उनले बीबीसीलाई भनिन्, “त्यस्तो उच्च निश्चितता भए पनि, यो ग्यासको उत्पत्ति कहाँबाट भयो भन्ने प्रश्न बाँकी नै हुन्छ ।” “पृथ्वीमा यो समुद्री सूक्ष्मजीवहरूले उत्पादन गर्छ, तर एउटा अन्य ग्रहमा यसको जैविक उत्पत्ति भएको निश्चित भन्न हामी उत्तम डाटा भए पनि सक्दैनौँ । किनभने ब्रह्माण्डमा धेरै अनौठो घटनाहरू घट्छन् र के२–१८बी ग्रहमा अन्य कुन भूगर्भीय प्रक्रियाहरूले यी अणुहरू उत्पन्न गर्न सक्छन् भन्ने हामीलाई थाहा छैन,” उनले थप भने ।

यो विचारसँग क्याम्ब्रिज टोली सहमत छ । उनीहरूले प्रयोगशालामा डीएमएस र डीएमडीएस अजैविक तरिकाले उत्पन्न गर्न सकिन्छ कि भनेर अन्य समूहहरूसँग मिलेर काम गरिरहेका छन् । अन्य अनुसन्धान समूहहरूले के२–१८बी बाट प्राप्त डाटाको वैकल्पिक (जीवनविहीन) व्याख्या पेस गरेका छन् । वैज्ञानिकहरूमा केवल डीएमएस र डीएमडीएसको उपस्थितिबारे मात्र नभएर ग्रहको संरचनाबारे पनि गहिरो बहस छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *