सुमनाको राजीनामा : रास्वपामा किचलो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट दिएको राजीनामाबारे अहिले उक्त पार्टीमा आन्तरिक किचलो सुरु भएको छ । राजीनामा दिएकी स्वयं सुमना श्रेष्ठ आफ्नो राजीनामा सार्वजनिक गरिएकोमा असन्तोष देखिएकी छन् । पार्टी सभापति रवि लामिछाने चैत १७ गते पार्टीको जिम्मेवारीमा फर्किएको दिन उनले राजीनामा दिएकी थिइन् । लामिछाने पार्टीमा फर्किएसँगै पार्टीको गतिविधि नियमित रुपमा सञ्चालन गर्ने गरी बैठक डाके र सोहीअनुसार निर्देशन दिएका थिए। तर चैत २१ गते उच्च अदालतको आदेशअनुसार उनी सहकारी ठगी प्रकरणमा कारागार चलान भए।
सुमनाले सभापति पार्टी जिम्मेवारीमा फर्किँदा दिएको राजीनामा पक्राउ परेपछि सार्वजनिक नगर्न कार्यवाहक उपसभापति डीपी अर्याललाई आफूले आग्रह गरेको पनि बताइन्। बिहीबार केन्द्रीय समिति बैठकमा उनले राजीनामा पत्र बुझाएको बारे जानकारी गराइन्। कार्यवाहक सभापति अर्यालले नियमअनुसार हुने जवाफ दिए। तर सुमनाले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीमाथि राजीनामा पत्र सार्वजनिक गरेको विषयमा आपत्ति जनाइन्।
उनले भनिन्, “सभापति पार्टी जिम्मेवारीमा फिर्ता आउनुभयो। महाधिवेशन तोकेकै समयमा गरौँ भन्नुभयो हामी एक्साइटेड भयौँ। तर शुक्रबार ९चैत२१०मा एकाएक उहाँ पक्राउ पर्नुभयो। पक्राउ परेपछि यो राजीनामा होल्ड गरौँ बाहिर नलैजाऔं अहिले भनेर कार्यवाहक सभापति डीपी अर्यालज्यूलाई भनेकै हो। तर आज एक्कासि कहाँबाट सार्वजनिक भयो।”
रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज
आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ। बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनीष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाइ जिम्मेवारी तोकिएको छ ।