भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति १५ वर्षपछि पक्राउ

भक्तपुर न्यूज

९ फागुन २०८१ १४:४८

भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति १५ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई १५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरमान लामा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

२०६६ मंसिर २४ गते उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा आएका चार युवाहरूले ट्याक्सी चालकको हत्या गरेका थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो ।

उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो । बाँकी दुई जना भने फरार थिए ।

पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *