समापन गरियो स्वस्थानी र माधवनारायण व्रत

भक्तपुर न्यूज

३० माघ २०८१ ११:३९

समापन गरियो स्वस्थानी र माधवनारायण व्रत

काठमाडौं । आजबाट स्वस्थानी र माधवनारायण व्रत समापन गरिएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा सुरू गरेको एक महिने स्वस्थानी र माधवनारायण व्रत आज समापन गरिएको हो । अन्तिम दिन आज व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् ।

विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समापन भएको छ । श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् ।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ । आजैबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने चलन छ ।

माघ महिनामा विष्णु भगवानलाई माधव नारायणको रुपमा पुकारिने भएकाले स्वस्थानीसँगै माधव नारायणको पनि व्रत, पूजा र उपासना गरिन्छ । स्वस्थानीका व्रतालुले माधव नारायणको पनि पूजा गरेमात्रै मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *