एचपिभी खोप अभियान सुरु
भक्तपुर । सरकारले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने किशोरी विद्यार्थीलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।
यस्तै विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूलाई पनि खोप लगाइँदैछ। भक्तपुरमा विद्यालयमा रहेका १७ हजार र विद्यालय बाहिर रहेका करिब १०५१ जना विद्यार्थीलाई आजबाट यो खोप लगाउने कार्यक्रम रहेको छ।
यो खोप अभियान फागुन ६ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरको सिपाडोलस्थित गणेश माविमा औपचारिक कार्यक्रम गरी खोप अभियान सञ्चालनमा गरिएको हो ।
सरकारले देशभर करिब १६ लाख किशोरीहरूलाई खोप दिने लक्ष्य सहित एचपीभी खोप अभियान सञ्चालनको तयारी गरेको हो । विद्यालय बाहिर रहेका किशोरीहरूको हकमा भने नजिकैको विद्यालय अथवा स्वास्थ्य कार्यालयमै खोप लगाउने व्यवस्था गरिएको जनाइएको छ ।