‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ
काठमाडौं । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई शनिबार पक्राउ गरेको छ ।
विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपास्थित २ वटा घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटिएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।
उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाईन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।