भक्तपुरमा दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गर्दै दुई मिनेटको सचेतना कार्यक्रम
काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन बढीमात्रामा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन थालेको छ ।
ट्राफिक प्रहरी कार्यालय भक्तपुरले हिजो भक्तपुरको दुधपाटीमा दुई पाङ्ग्रे सवारी साधनलाई बाटो मै रोकेर दुई मिनेट ट्राफिक नियम पालना सम्बन्धी सचेतना कक्षा दिएको हो ।
दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाको जोखिम न्यूनीकरण, रोकथाम र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदिप खत्रीले बताए ।
यो अभियानले मोटरसाइकल र स्कुटर चालकलाई सवारी नियमबारे सचेत गराउने उद्देश्य राखेको उनले बताए । उनका अनुसार दुई मिनेटको छोटो समयमै सवारी नियम पालना, हेलमेट प्रयोग, गति नियन्त्रण, लेन अनुशासन, मोटरसाइकलको स्वरुप परिवर्तन र ट्राफिक संकेतहरूको महत्त्वबारे जानकारी दिइनेछ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र विशेष गरी मोटरसाइकल दुर्घटना बढी भएको र दुर्घटनामा अंगभंग भइ ज्यानै गुमाउनुपर्ने अवस्था आएपछि सचेतना कार्यक्रम लागू गरिएको जनाएको छ । यो अभियान १० दिन सम्म उपत्यका विभिन्न स्थानमा संचालन हुने छ ।