राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण गरी प्रसाद ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेका थिए । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मंगलधुन प्रस्तुत गरेको थियो ।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति रहेको थियो । उनीहरूले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।
श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरूले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रूपमा सुन्ने चलन छ ।