अष्ट्रेलियामा पत्रकार भरतबन्धु थापाको एकल फोटो प्रदर्शनी
काठमाडौं । तस्विरका माध्यमबाट अष्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउन फोटो पत्रकार भरतबन्धु थापाको एकल तस्विर प्रर्दशनी भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा अष्टेलिया नेपाल न्युजको ११ औं वार्षिकोत्सवको अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी फोटो पत्रकार थापाको नेपाल झल्कने एकल तस्विर प्रदर्शनी गरिएको हो । अष्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा भएको प्रदर्शनीमा २२ वटा तस्विरहरू राखिएका थिए ।
प्रदर्शनी अवलोकन गर्दै राजदुत यादवले विदेशमा रहेका सबैले नेपालको पर्यटन प्रवर्द्धनका निमित्त सबै तह र तप्काबाट जोड दिनुपर्ने बताउँदै देशमा रहेका नेपालीहरूले समय मिलाएर नेपालको प्राकृतिक सौन्दर्यताको भरपुर आनन्द लिन नेपाल घुम्नका लागि आग्रह गरिन् । नेपालको समृद्धि सँगै पर्यटन प्रवर्द्धनमा यस्ता उदाहरणीय कामले देशको मुहार फेर्न एउटा कोषेढुंगा सावित हुने उनले बताईन् ।
एन एस डब्लुका वाणिज्यदुत संजिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्यसँगै साँस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटो पत्रकार थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनका लागि विशेष जोड दिने बताए ।
फोटो पत्रकार थापाले राजदुत यादव र वाणिज्यदुत शमाृलाई आफ्नो नेपाल झल्कने किताब समेत प्रदान गरेका थिए ।