चार महिनापछि बस्दै बागमती प्रदेशसभा

भक्तपुर न्यूज

१८ माघ २०८१ १०:५०

चार महिनापछि बस्दै बागमती प्रदेशसभा

काठमाडौं । चार महिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक हुन लागेको हो ।

गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो ।

लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यसैबीच विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगति बारे बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको छ । सरकारले आजको बैठकमा केही विधेयकहरु टेबुल गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले विगतको सहमति कार्यान्वयनमा जोड दिएपछि कार्यसूची संशोधन गरिएको हो । कार्यव्यवस्था बैठकमा नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टी भने सहभागी थिएनन् ।

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *