आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । यो २८६१ औं सोनाम ल्होसार हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपले मनाइन्छ । तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।