रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको छ ।
त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) का बारेमा पनि छलफल हुने पार्टीले जनाएको छ ।