पोल्यान्डको न्यूनतम पारिश्रमिक अमेरिकाको भन्दा बढी
काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य रहेको युरोपेली मुलुक पोल्यान्डको श्रमिकको न्यूनतम ज्याला पहिलोपटक अमेरिकाको संघीय न्यूनतम ज्यालाभन्दा बढी भएको छ।
१ जनवरी २०२५ बाट पोल्यान्डमा न्यूनतम ज्याला करसमेत पोलिस ज्लौटी ३०.५ प्रतिघण्टा पुगेको छ। यो हालको अमेरिकी विनिमय दरअनुसार ७.३७ डलर हो। अमेरिकाको संघीय न्यूनतम ज्याला ७.२५ डलर प्रतिघण्टा रहेको छ। यद्यपि, अमेरिका राज्यहरूले आफ्नै न्यूनतम ज्याला तोकेका छन्।
सामान्यतः पोल्यान्ड सरकारले प्रत्येक वर्षको १ जनवरीबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँछ। तर यस वर्ष पोल्यान्ड सरकारले रोजगारदाता र ट्रेड युनियनसँगको छलफलबाट जुलाई र हाल गरी दुईपटक न्यूनतम पारिश्रमिक बढाएको छ।
पोलिस ट्रेड युनियनले यो ज्याला वृद्धिलाई श्रमिकहरूको ‘विजय’ भन्दै स्वागत गरेको छ। सरकारले यस ज्याला वृद्धिलाई अमेरिकाको भन्दा उच्च भनेर घमण्ड गर्न सक्ने भन्दै यसमा सावधानी अपनाउन पनि अपिल गरेको छ।
कोभिड महामारी र त्यसपछिको रुस-युक्रेनको युद्धपछि विगत ५ वर्षदेखि पोल्यान्ड सरकार ज्याला वृद्धि गर्न सफल छ। यस वर्ष भएको श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि अन्य युरोपेली संघका देशको तुलनामा बढी हो।