‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा

भक्तपुर न्यूज

२१ पुष २०८१ १२:०८

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् ।

सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ ।

यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत गरेको छ । यसबारे निर्माणपक्षले भने केही बोलेको छैन । निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।

उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ । त्यसैले उनै निर्देशकले बनाउने ‘कोशेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतिक्षित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *