नेपालमा लगातार भूकम्प, पछिल्ला १८ दिनमा गए साना–साना ९ वटा भूकम्प
काठमाडौं । पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । पछिल्ला १८ दिनमा साना–साना ९ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसै पुस २ यता ९ वटा भूकम्प गएका हुन् । पुस २ मा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । यसपछि ३ गते पनि सोही जिल्ला केन्द्रविन्दु अर्को भूकम्प गएको पाइएको छ ।
त्यसपछि लगातार मनाङ, बाजुरा, दार्चुला जाजरकोट, बैतडी, सिन्धुपाल्चोक र मुगुमा भूकम्प गएको छ । शुक्रबार बिहान मात्रै मुगुको लुमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हाे । यसमध्ये बाजुरामा सबैभन्दा ठूलो भूकम्प गएको छ ।
पुस ५ मा गएको ५.२ म्याग्निच्युडको भूकम्प सबैभन्दा ठूलो हो । गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले धनजनको ठूलो क्षति पर्याएको थियो । यसरी हेर्दा पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी भूकम्प गएको पाइएको छ । सानातिना भूकम्प गइरहेमा ठूला र विनाशकारी आउने सम्भावना कम हुने विज्ञहरूको तर्क छ ।
