फिल्म ‘रंगी’ को टिजर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ।
टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ। टिजर खुशी, रोदन र पीडा मिश्रित छ। फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि पानीमा भिज्दै काम गरेको दृश्य, छोरीलाई स्याहार सुसार गरेको दृश्य टिजरमा हेर्न पाइन्छ। टिजरमा कारले हिर्काएर घाइते भएकी छोरीलाई हातमा बोकेर सलोन चिच्याएको दृश्य निकै कारुणिक छ।
टिजरमा फिल्मकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ। यो फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ। यसअघि फिल्मका दुई पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक पोस्टरले फिल्मलाई एक किसिमको हाइप दिइसकेको छ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ। फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।