सहकारी प्रकरणमा रवि लामिछाने पन्छिन मिल्दैन : शङ्कर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने बताएका छन् ।
रास्वपा पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको उनको भनाइ छ । फरक प्रसङ्गमा उनले सरकारमा सहभागी दुई प्रमुख पार्टी काङ्ग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताए ।
नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको भन्दै दुई दललाई असफल हुने छुट नरहेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनले बताए । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।