सकियो तीन दिने मध्यपुर महोत्सव, पाँच लाखभन्दा बढीले गरे अवलोकन
भक्तपुर । मध्यपुर थिमिमा तीन दिनसम्म चलेको मध्यपुर महोत्सव सकिएको छ । पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन र स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने अवधारणासहित आयोजना गरिएको महोत्सव हिजो आइतबार समापन भएको हो ।
तीन दिनसम्म चलेको महोत्सवमा नेवाः सभ्यता झल्कने मौलिक खाना, नेवा भोज, कला–संस्कृति, चित्रकला तथा हस्तकला, मौलिक बाजागाजा, परम्परागत सीप र खेल स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, माटोका भाँडा लगायत वस्तुहरू प्रदर्शन गरिएको थियो ।
नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीन दिने महोत्सव अवलोकन गर्न आउनेको भीड लागेको थियो । महोत्सवमा पाँच लाखभन्दा बढीले अवलोकन गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवले स्थानीयको आर्थिक समृद्धिमा योगदान पुर्याउन ठूलो सहयोग गरेको उनले बताए ।
योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिएको थियो ।
महोत्सवमा एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश गराइएको थियो । थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा राखिएको थियो ।
यस्तै, लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा) को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा राखिएको थियो ।