स्वास्थ्य मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन शुरू
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन शुरू भएको छ । भोलिसम्म चल्ने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गरेको छ ।
साथै उनले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिएको छ । सम्मेलनमा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । तीन सय जनाको भौतिक उपस्थिति र सात सय जना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए ।