इसेवा महा-उत्सव बम्पर उपहार विजेता घोषणाः रविले जिते नामी कार
काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । फेसबुकमार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।
गत असोज १ देखि कार्तिक ३० गतेसम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो ।
इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवामार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, १०० रूपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।
इसेवा महाउत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभमार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ ।
सरोज कुमार पाण्डे र अविन गुरू अचार्यले १०० रूपैयाँको खेलमा आइफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ हात पारेका थिए ।
नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले थप उर्जा प्रदान गरेको बताए ।