माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

भक्तपुर न्यूज

२७ मंसिर २०८१ १२:५२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। ‍बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैठकमा पुस २ देखि सुरू हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को दुईपटक स्थगित भएको राष्ट्रिय सम्मेलनका विषयमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए।

विद्यार्थीहरूबीच विवाद र कुर्ची हानाहान भएपछि स्थगित भएको सम्मेलन मंसिरको २३ र २४ गते गर्ने भनिएको थियो। तर तयारी नपुगेको र निर्वाचनको मोडालिटी पनि टुंगो लगाउन बाँकी रहेकाले फेरि स्थगित भएको थियो।

बैठकमा पालिकाहरूमा गर्ने भनिएको खबरदारी सभा, पालिका सम्मेलन लगायतका विषयमा पनि छलफल हुनेछ। त्यस्तै उपनिर्वाचनबारे पनि समीक्षा हुने प्रवक्ता सापकोटाले बताए।’यसअघि उपनिर्वाचनको परिणामबारे प्रारम्भिक छलफल भएको थियो। आज पुनः समीक्षा हुन्छ,’ उनले भने।

माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। आगामी केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने तयारी छ। त्यसबारेमा पनि बिहीबारको स्थायी कमिटी बैठकमा छलफल गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *