युवामा किन बढ्दैछ ढाड र कम्मर दुखाइको समस्या ?
काठमाडौं । हिजोआज ढाड दुख्ने समस्याबाट जोकोही पीडित छन् । वृद्धवृद्धालाई ढाड दुख्ने समस्याले अझ धेरै सताइरहेको हुन्छ । उमेर पुगेका वृद्धवृद्धाको हड्डी कमजोर हुने भएकाले उनीहरूमा ढाड दुख्ने समस्या धेरै हुन्छ । तर आजभोलि यो समस्या युवा उमेरमा नै देखा पर्न थालेको छ ।
सबैभन्दा पहिले त ढाड दुखाइ सामान्य दुखाइ हो वा विशेष दुखाइ हो भन्ने कुरा छुट्याउनुपर्ने हुन्छ । सामान्य दुखाइमा ढाडसँगै शरीरका अन्य अङ्ग हात, खुट्टा, टाउको पनि दुख्छ । यस्तोमा खानपान नमिल्दा विभिन्न भिटामिनको कमी जस्तो भिटामिन डी, सीको कमी हुँदा पनि ढाड दुख्छ । साथै, विभिन्न रोग जस्तो बाथरोग, युरिक एसिड जस्तो समस्यामा ढाडसँगै अन्य अङ्ग पनि दुख्छ ।
विशेष ढाड दुखाइको कुरा गर्दा भने यसमा ढाडको दुखाइ मात्र हुन्छ र यसको सबैभन्दा प्रमुख कारण पोस्चर नमिलेर निम्तिने मांसपेशीको दुखाइ हुन्छ । लामो समय एउटै पोजिसनमा निहुरिएर मोबाइल, ल्यापटप चलाउँदा मांसपेशीमा दबाब पर्छ । भारी सामान उठाउँदा, जिम गर्दा जोर्नीको समस्या भएर पनि ढाड दुख्छ । निरन्तर निहुरिएर एउटै पोजिसनमा लामो समय बस्दा डिस्कमा निरन्तर दबाब परेर पनि ढाडको दुखाइ हुन्छ । धेरै समय एउटै पोजिसनमा रहेर काम गर्दा, सुताइ नमिल्दा पनि ढाड दुख्न सक्छ ।
शरीरका सबै अङ्गलाई सहज रूपमा राख्नुपर्ने हुन्छ । तर मोबाइल, ल्यापटप, मोटरसाइकल चलाउँदा शरीरका यी भाग सिधा अगाडि ल्याउने गरिन्छ । केही सामान उठाउँदा झुक्दा हिपको हड्डीको मद्दतले झुक्नु पर्नेमा ढाडबाट झुक्दा पनि ढाडमा प्रेसर परेर दुख्छ । यस्तो हुँदा शरीरको एकातिरको मांसपेशी कमजोर हुँदै जान्छ भने अर्कातिरको मांसपेशीले धेरै काम गर्न खोज्छ ।
मांसपेशी लचकदार हुनुपर्छ तर यस्ता विभिन्न कारणले मांसपेशीमा समस्या हुँदै गएपछि तन्किन छोड्छ र ढिक्का जस्तो हुन्छ । त्यसले गर्दा ढाड दुख्ने हुन्छ ।
काँध दुखाइको कारण
युवा उमेरमा ल्यापटप चलाउने, मोबाइल धेरै चलाउने व्यक्तिको घाँटी अगाडि तन्किन्छ । यस्तो अवस्थामा दुखाइ बढ्न सक्छ । बसाइको पोजिसन नमिल्दा, लामो समय एउटै पोजिसनमा रहेर काम गर्दा, सुताइ नमिल्दा, सिरानी नमिल्दा पनि काँध दुख्न सक्छ ।
घाँटीलाई सिधा राख्नुपर्ने हुन्छ तर निहुरिएर मोबाइल तथा ल्यापटप चलाउँदा यो सिधा हुँदैन । दबाब परेर घाँटी र काँध दुख्छ ।
दुखाइको कारण कसरी थाहा पाउने ?
ढाड तथा काँध दुखाइको कारण सबै एउटै हुँदैन । मांसपेशीको कारण दुखेको हो भने जुन ठाउँको मासुमा दबाब परेको हो त्यही ठाउँमा दुख्छ । डिस्क सुन्निएको छ त्यसको दुखाइ अलि फरक हुन्छ । डिस्क निस्किएर नसा च्यापेको छ भने त्यसको दुखाइ खुट्टासम्म हुन्छ र करेन्ट लागेको जस्तो हुन्छ । ‘फ्यासिट जोइन’ दुईवटा हड्डीबीचको जोर्नीको कारण दुखाइ भएको हो भने त्यो एमआरआईमा पनि देखिंदैन त्यो पत्ता लगाउन डाइग्नोस्टिक इन्जेक्सन लगाउनुपर्ने हुन्छ ।
उपचार
दुखाइ विभिन्न कारणले हुने भएकाले सुरुमा त दुखाइको कारण नै पत्ता लगाउनुपर्छ । के कारणले दुखेको हो, शरीरको कुन अङ्गको कुन भागले दुखाइ सुरुवात गरेको छ पत्ता लगाउनुपर्छ ।
ढाड दुख्ने समस्यामा पेन फिजिसियन, न्युरो सर्जन, हाडजोर्नी विशेषज्ञ, फिजियोथेरापी, स्पा लगायत विभिन्न माध्यमबाट उपचार हुन्छ । यस्तो कता जाने उपचारका लागि के उपचार गर्ने भन्ने कुरामा धेरै बिरामी अलमल्ल परेको पाइन्छ । यस्तोमा बिरामीहरूमा दुखाइको समस्या भएकाले सबैभन्दा पहिले पेन फिजिसियनलाई भेट्न सकिन्छ । किनकि पेन फिजिसियनले दुखाइको कारण पत्ता लगाएर औषधि खाने कि फिजियोथेरापी गर्ने वा शल्यक्रिया गर्ने भनेर सल्लाह दिन सक्छन् ।
जस्तो मासु खुम्चेर दुखाइ भएको हो कि कमजोर भएको हो भनेर पत्ता लगाएपछि त्यही अनुसारको व्यायाम, फिजियो गर्न सकिन्छ ।
ढाड दुखाइमा मांसपेशी दुखेको छ । फिजियोथेरापी गर्दा पनि निको भएन भने इन्जेक्सन प्रयोग गर्न सकिन्छ । मांसपेशी कमजोर छन्, फिजियो गर्दा पनि फेरि दुख्न थाल्यो भने मांसपेशी बलियो बनाउन इन्जेक्सन मार्फत उपचार गर्न सकिन्छ । शरीरका नसाहरू च्यापिएको खण्डमा इन्जेक्सन प्रयोग गर्न सकिन्छ ।
जोर्नीको दुखाइमा रेडियो फ्रिक्वेन्सी एबलेसन र क्रायोएबलेसन भन्ने मेसिनको सहायताले दुखाइ हुने नसालाई तातो तथा चिसोको माध्यमबाट मार्ने प्रविधिबाट पनि उपचार गरिन्छ । यो प्रविधिमा दुखाइ हुने नसालाई मात्र मारिन्छ । डिस्कका कारण दुखाइ भएको हो भने केही व्यायाम र इन्जेक्सन मार्फत उपचार गरिन्छ ।
डिस्कको कारण नसा च्यापिएर ढाड दुखेको छ भने नयाँ प्रविधि डिस्कमा ओजन ग्यासलाई इन्जेक्सन मार्फत दिएर नसाको प्रेसर कम गरेर वा शल्यक्रिया मार्फत दुखाइको उपचार गरिन्छ । दुखाइ दीर्घकालीन समस्यासँग आउने भएकाले यसको कुनै जादुयी उपचार छैन । च्वाट्टै निको हुन्छ भन्ने हुँदैन । त्यसैले यसलाई नियन्त्रणमा राख्नु नै उपचार हो ।
ढाड र काँधको दुखाइ हुन नदिन के गर्ने ?
ढाड, कम्मर र गर्दन दुख्ने समस्यालाई सामान्य रुपमा लिने प्रवृत्ति छ । तर यसलाई सामान्य रुपमा लिनु हुँदैन । यसबाट बच्न केही कुरामा ध्यान दिनुपर्छ ।
दैनिक एक घण्टा कसरतमा बिताउनुपर्छ । कुन–कुन कसरत कसरी गर्ने भन्ने कुरा मानिसको कुन मांसपेशी कति कमजोर छ, त्यसको जाँचबाट मात्र थाहा पाउन सकिन्छ । त्यसैले अनिवार्य रुपमा कुनै पनि फिजियोथेरापी सेन्टर, हस्पिटल जस्ता स्वास्थ्य संस्थामा गएर सम्बन्धित फिजियोथेरापी चिकित्सकसँग परामर्श लिएर मात्र शारीरिक व्यायाम गर्दा फाइदाजनक हुन्छ ।
लामो समय उभिएर गर्नुपर्ने काम छ भने सकेसम्म ३०-३० मिनेटको अन्तरमा पाँच मिनेट आराम गर्नुपर्छ । गर्दन निहुराएर टिभी हेर्ने, मोबाइल, ट्याब्लेट चलाउने, पत्रिका पढ्ने बानी गर्नु हुँदैन । सुत्ने बेलामा सधैं गर्धन सिधा हुने ठिक्कको सिरानीको प्रयोग गर्नुपर्छ ।