गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जानकारी दिएको हो । कम्पनीका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला हुनेछ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ ।
कम्पनीले बिक्री खुल्ला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुसको ३ गते भित्रसम्ममा आवेदन दिइसक्नुपर्ने हुन्छ । आईपीओमा न्यूनतम १० कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
यस्तै, कम्पनीले आफ्नो कर्मचारीका लागि ३ प्रतिशत अर्थात् ६७ लाख ५० हजार रुपैयाँ बराबरको ६७ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । ५ प्रतिशत अर्थात् एक करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषलाई राखेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी बाँकी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई छुट्याएको बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दिएको आवेदन बाँडफाँटपश्चात् सर्वसाधारण लागि यो आईपीओ बिक्री खुला गरिने छ ।