जग्गा बेच्यो भन्ने आरोपमा सत्यता नभएको क्याम्पस प्रमुखको भनाई

भक्तपुर न्यूज

१० मंसिर २०८१ १५:४६

जग्गा बेच्यो भन्ने आरोपमा सत्यता नभएको क्याम्पस प्रमुखको भनाई

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसकी प्रमुख डा. कविता लुईटेल भट्टराईले आन्दोलनरत स्वतन्त्र विद्यार्थी युनियन र विभिन्न विद्यार्थी संगठनलाई वार्तामा आउन आव्हान गरेकी छन् ।

प्रमुख डा. भट्टराईले आइतबार एक विज्ञप्ति निकाल्दै जग्गा बेच्यो भन्ने आरोपमा सत्यता नभएको भन्दै आन्दोलनरतलाई वार्तामा आउन आव्हान गरेकी हुन् ।

क्याम्पसको नाउँमा रहेको उत्तर पट्टीको २४२ कित्ता नम्बरमा रहेको भाजु पोखरीको दक्षिण तर्फको डिल परेको र बाटो खोल्ने बिषयमा स्ववियुसँग छलफल नगरी भक्तपुर नगरपालिकासँग तीन बुँदे सहमति गरेको भन्दै क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा स्वबियु र विभिन्न संगठनले रोक लगाएको थियो ।

प्रमुख डा. भट्टराईले विज्ञप्तिमा लेखेकी छिन्, ‘त्रिवि ऐन, निमयावली र कार्यविधिले त्रिविको जग्गाबारे निर्णय गर्ने कुनै अधिकार नभएको क्याम्पस प्रमुखलाई जग्गा बेच्यो भनी आरोप गर्नु र त्यही आरोपको आधारमा आन्दोलन गर्नुको कुनै औचित्य छैन् । सत्यलाई भीड, भ्रम र अफवाहले छोप्न वा बङ्ग्याउन सक्दैन भन्ने मेरो अटल विश्वास हो । त्यसकारण यस्ता भ्रमपूर्ण अफवाहको पछाडि नलाग्न, तथ्यपरक र यथार्थ विषयमा आधारित भएर वार्ताको टेवलमा बस्न तथा क्याम्पसको प्राज्ञिक वातावरणको पुनर्वहालीको लागि स्वतन्त्र विद्यार्थी युनियन र विभिन्न विद्यार्थी संगठनलाई आग्रह गर्दछु ।’

गत कार्तिक ७ गते भक्तपुर नगरपालिकाले क्याम्पसको प्रवेशद्वार र अन्य भौतिक संरचना भत्काउन डोजर प्रयोग गरेपछि असामान्य स्थिति उत्पन्न भएको थियो । स्थितिलाई सामान्य बनाउन गत कार्तिक २८ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. भट्टराई सहितको उपस्थितिमा बसेको बैठकले भाजु पोखरीको दक्षिणतर्फ तथा क्याम्पसको उत्तरतर्फको खण्डको सौन्दर्यकरण गर्न र पुरातत्विक क्षेत्र संरक्षण गर्न २० फिटको बाटो खोल्न क्याम्पसको नाउँमा रहेको जगा उपलब्ध गराउने, क्याम्पसको प्रवेशद्वार र पर्खाल नगरपालिकाले बनाईदिने लगायत तीन बुँदे सहमति भएको थियो ।

विज्ञप्ति :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *