भक्तपुर क्याम्पसका प्रमुखलाई कार्यालय प्रवेश निषेध
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखलाई रोक लगाएर आन्दोलित भएका छन् । स्ववियुले क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई ध्यानाकर्षण पत्र बुझाउने, धर्नालगायत क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएर आन्दोलित भएका हुन् ।

भाजु पोखरीको डिल र भक्तपुर बहुमुखी क्याम्पसको सिमाना विवादका विषयमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय र क्याम्पसबीच भएको सहमति खारेजीको माग गर्दै स्ववियु आन्दोलित भएको हो ।

गत कार्तिक २८ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख कविता लुइँटेलसहितको उपस्थितिमा बसेको बैठकले भाजु पोखरीको मापदण्डको २० फिटको बाटो खोल्ने र क्याम्पसको संरचना निर्माण गरिदिने सहमति भएको नगरपालिकोले जनाएको छ ।

स्ववियुसँग छलफल नै नगरि सहमति गरेको भन्दै क्याम्पसको नाम रहेको जग्गा बेचेको आरोप लगााउँदै स्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई क्याम्पस प्रवेशमा रोक लगाएको स्ववियु भक्तपुर बहुमुखी क्याम्पसका सभापति पुकार पराजुलीले बताए । उनले भने, ‘जबसम्म क्याम्पसको नाउँमा रहेको जग्गाा फिर्ता हुँदैन तबसम्म आन्दोलन फिर्ता हुँदैन् ।’

गत कार्तिक ७ गते भक्तपुर नगरपालिकाले क्याम्पसको प्रवेशद्वार भत्काएपछि क्याम्पस प्रशाासन र नगरपालिकाबीच विवाद चुलिएको थियो ।

यता, भक्तपुर नगरपालिकाले भत्काएका प्रवेशद्वार निर्माण र पर्खाल लगाउन ३० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
