सूर्यविनायक कृषि, साँंस्कृतिक तथा व्यापार महोत्सव सञ्चालनमा
भक्तपुर । सूर्यविनायक कृषि, साँंस्कृतिक तथा व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । १५ दिनसम्म चल्ने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए ।
सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उद्देश्यका महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
राष्ट्रिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा महोत्सव भएको हो ।
प्रतिष्ठानका अध्यक्ष नवराज ढुंगानाले सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथै दिगो विकासको लक्ष्य हासिल गर्न महोत्सवले थप टेवा पुर्याउने विश्वास लिइएको बताए ।

उद्घाटन कार्यक्रममा संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं २ का वडा अधयक्ष प्रदीप कार्की, वडा नं ३ का वडा अध्यक्ष दीपेन्द्र केसी, नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महोत्सवमा नगर भित्रका लघु, घरेलु साना उद्यमी एवं महिला उद्यमीको उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसाय, स्थानीय मौलिक उत्पादन, हस्तकला तथा काष्ठकलाका उत्पादन, पर्यटन उद्योगका उत्पादन, मौलिक नेवारी खाजा, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक–गायिकाको साङ्गीतिक प्रस्तुति, एक वडा एक निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सूर्यविनायक नगरपालिका–३ बालकोटमा महोत्सव भएको हो । मेलामा प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ । मेला मंसिर २२ गतेसम्म चल्ने छ ।